
काठमाडौं, पुस-१८ ।
टोटनह्यामले उपाधि होडमा आफूलाई सशक्त दाबेदारको रुपमा प्रस्तुत गर्दै म्यानचेस्टर सिटीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत गएराती राति भएको खेलमा टोटनह्यामले कार्डिफ सिटीमाथि ३–० गोल अन्तरको जित निकाल्दै दोस्रो स्थानमा आफुलाई फर्काउन सफल भएको हो ।
अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केन, क्रिष्टियन एरिक्सन र सन हेङ्ग–मिनले एक एक गोल गरे ।
खेलको तीनै गोल पहिलो हाफमा नै भएको थियो । तेस्रो मिनेटमा नै केनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाउदा १२ औँ मिनेटमा एरिक्सनले गोल गरेर अग्रता दोब्बर पारे ।
२६ औं मिनेटमा सनले गोल गरेपछि पहिलो ३० मिनेट भन्दा कम समयकै खेलमा ३–० को अग्रता टोटनह्यामले लिएको थियो ।
दोस्रो हाफमा दुवै तर्फबाट गोलका लागि प्रयास भए पनि गोल भने हुन सकेन र टोटनह्याम ३–० गोल अन्तरले विजयी भयो ।
जितपछि दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४८ अंक हुँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४७ अंक रहेको छ ।
शीर्ष स्थानको लिभरपुलको २० खेलबाट ५४ अंक रहेको छ अर्थात टोटनह्याम ६ अंकले पछि छ । २१ खेलबाट १८ जोडेको कार्डिफ भने १६ औँ स्थानमा रहेको छ ।
