
काठमाडौं, पुस-१९ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले गैंडाको खाग तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–५ जाइका बस्दै आएका ५१ वर्षीय चक्र भण्डारीलाई गैंडाको खागसहित प्रहरीले पक्राउ गरेको हो ।
भण्डारी बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ३ का स्थायीवासी रहेको प्रहरीले जनाएको छ ।
भण्डारीले कारोबार गर्ने उद्देश्यका साथ गैंडाको खाग राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जनाए ।
भण्डारीले भारतबाट गैंडाको खाग ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । खागसहित पक्राउ परेका भण्डारीलाई थपआनुसन्धानको लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको छ ।
दुर्लभ वन्यजन्तु अङ्गको अवैध ओसारपसारमा संलग्न व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना हुने वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
