
काठमाडौं—पुस २०
२०७६ सालका लागि सरकारले १२ दिन सार्वजनिक बिदा थप गरेको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले सरकार समक्ष विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव पेस गरेको छ ।
बिदा पुनरावलोकन कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सदस्य रहेका थिए।
कार्यदलले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, माघीपर्वमा १ र जनै पूर्णिमामा १ दिन गरी कुल १२ दिन विदा थप गर्न प्रस्ताव गरेका छन।
केपी ओली नेतृत्वको सरकार गठन भएसँगै विभिन्न समुदायले मनाउने पर्वहरुमा गरी कुल १२ दिन सार्वजनिक बिदा कटौती गरेको थियो।
तिनै बिदा पुनर्स्थापित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको छ ।
गत चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनावश्यक सार्वजनिक बिदाले सरकारी कामकाज नै प्रभावित भएको भन्दै बिदा कटौतीको निर्णय पारित गरेको थियो।
