देशमा हाल पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न प्रदेशमा चट्याङसहित हल्का वर्षा भइरहेको छ भने केही क्षेत्रमा हिमपातको सम्भावनासमेत छ ।
कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा अहिले चट्याङसहितको हल्का वर्षा जारी छ । दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको छ ।
आज राति पनि मौसम यस्तै रहनेछ । विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको पूर्वानुमान छ ।

