काठमाडौँ । बंगलादेशको सेनाले कू गर्ने अनुमानलाई अफवाह भनेको छ । बंगलादेशी अखबार डेली स्टारका अनुसार, सेना मुख्यालयका वरिष्ठ अधिकारीहरूले ढाका क्यान्टमा पत्रकार सम्मेलन गर्दै यस्तो कुनै छलफल नभएको र सेनाको कू गर्ने मनसाय पनि नभएको स्पष्ट गरेको हो ।
सेनाले राखिन करिडोरलाई संवेदनशील मुद्दा भन्दै यसमा कुनै सम्झौता नहुने बताएको स्पष्ट गरेको छ ।
गत हप्ता, बंगलादेशमा अन्तरिम सरकार र सेनाबीचको द्वन्द्व देखिएपछि सेनाले कू गर्ने अड्कलबाजी भएको थियो । सेना प्रमुख जनरल वकार-उज-जामाले मे २२ मा सेना मुख्यालयमा आफ्ना अधिकारीहरूलाई सम्बोधन गर्दै यस वर्षको डिसेम्बरभन्दा बाहिर आम चुनाव स्थगित गर्नु नहुने भन्दै अन्तरिम सरकारलाई चुनाव घोषणा गर्न दबाब दिएका थिए ।
सेना प्रमुखले युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई संवेदनशील राष्ट्रिय मुद्दाहरूमा निर्णय लिने कुनै नैतिक वा संवैधानिक अधिकार नभएको चेतावनी समेत दिएका थिए । राखिन करिडोरको मुद्दामा, सेनाले मार्चदेखि नै भन्दै सहमति बिना यसको निर्माण गर्नु गैरकानूनी हुने बताउदै आएको थियो ।
बंगलादेशको म्यानमार सीमामा रहेको राखिन जिल्लामा मानवीय कोरिडोर निर्माण गर्ने कथित योजनालाई लिएर सेना र सरकारबीच विवाद रहेको छ । बंगलादेशका विदेश सल्लाहकार तौहीद हुसेनले अमेरिकाले प्रस्ताव गरेको राखिन करिडोरमा अन्तरिम सरकारले सहमति जनाएको घोषणा गरेका थिए । तर सेनाले सो घोषणाप्रति असन्तुष्टि व्यक्त गर्दै सेना प्रमुख वकारले यसलाई ‘रक्तपातपूर्ण करिडोर’ को रूपमा वर्णन गरेका थिए ।
उनले अन्तरिम सरकारलाई चेतावनी दिदै बंगलादेश सेनाले सार्वभौमसत्ताको लागि हानिकारक कुनै पनि गतिविधिमा कहिल्यै संलग्न नहुने बताएका थिए ।
यसपछि, युनुस सरकारले यस विषयमा यू-टर्न लिदै म्यानमार सीमामा रहेको राखिन करिडोरको बारेमा कुनै पनि देशसँग कुनै सम्झौतामा हस्ताक्षर नगरेको प्रष्टीकरण दिनुपरेको थियो ।
बंगलादेशमा जारी राजनीतिक उथलपुथलका बीच, सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस आफ्नो पदमा रहिरहने भएका छन् । पहिले राजनीतिक र सैन्य दबाबका कारण उनले राजीनामा दिन सक्ने अनुमान गरिएको भएपनि उनले तत्काल पद नछोड्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

