Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

समाजसेवाको नाममा नाटक कति समयसम्म ?

Reporter

– यमु शर्मा सुब्बा /अध्यक्ष /मेम्ब्सा ईन्टरन्यासनल

अमेरिका । हामी दिनदिनै नयाँ समाज निर्माण गर्ने कुरा गर्छौं। “न्याय”, “समानता”, “सेवा”, “अधिकार” जस्ता शब्दहरू यति प्रयोग भइसके कि ती शब्दहरू सुन्दा अब चिसो लाग्न थालिसकेको छ। तर जब सडकमा कुनै आमाबुबा रुँदैछ, कुनै दिदीबहिनी बलात्कृत भएर मौन छ, कसैको छोराछोरी घोटालामा फँसेर न्याय खोज्दै भौतारिरहेको छ! तब हामी भन्छौं: “उसको पार्टी कुन हो?” हो, यही प्रश्नले तपाईंको “सेवा” नामको मुखौटा च्यातिदिन्छ। यही प्रश्नले देखाउँछ, तपाईं साहसी सेवक होइन, दलको प्रचारक मात्र हुनुहुन्छ। र कहिले हद नाघ्छ भने जब अपराधी आफ्नै पार्टीको भित्रको देखिन्छ, तब तपाईंको आँखा बन्द हुन्छ, कान टालिन्छ, र औंला फोनको स्क्रिनबाट तल स्क्रोल हुन्छ।

“म त राजनीति गर्दिन”, “म विवादमा जान्न चाहन्न”, “साँच्चिकै समाजसेवामा छु”, भनेर तपाईं मौनताको खोल ओढ्नुहुन्छ। तर बुझ्नुस् : आजको मौनता नै भोलिको हिंसा हो। जुन मौनताले तपाईंलाई अहिले सुरक्षित बनाइरहेको जस्तो देखिन्छ, त्यही मौनता एक दिन तपाईंको घरको आँगनमा आएर थाप्लोमा चोट दिन सक्छ। साँचो समाजसेवक बन्न मन छ भने पार्टीको झण्डा भन्दा अगाडि मानवीयता देख्नुस्। तब मात्र तपाईंले त्यो सेवा गर्ने सुखद अनुभूति लिन सक्नुहुन्छ। होइन भने, ‘सेवामा छु’ भन्ने नाटक बन्द गर्नुस्। यो समाजलाई तपाईंको मुखौटे सेवा होइन, आँट र इमान चाहिएको हो।

आज नेपाल गणतन्त्र बनेको दिन उत्सव मनाउने दिन हो। तर त्यो उत्सव खाली झण्डा फहराउने मात्र होइन। गणतन्त्रले हामीलाई संविधान दियो, चुनाव दियो, अधिकार दियो। तर गणतन्त्रले इमानदारी, संवेदना र उत्तरदायित्व भने आफैंले बोकेर जानुपर्ने हो। आजको देशमा मानिसहरू बाँचेका छन्, तर मानवता भने ICU मा छ। श्वास छ, तर स्पन्दन छैन। सास छ, तर साथ छैन।  र यो अवस्था राजधानीमा मात्र होइन, स्थानीय तहसम्मै फैलिएको छ। कति स्थानीय सरकारमा योजना छन् तर त्यसको प्रयोग छैन।औषधि छैन, शिक्षक छैन, शौचालय छैन तर कार्यक्रमको नाममा करोडौं बजेट पारित हुन्छ। योजनाको लाभ आम नागरिकले होइन, योजनाको समीक्षामा रमाउने केही व्यक्तिले मात्र लिन्छन्। अब हामीले बुझ्नुपर्छ : सुधार सधैं ठूला कुराबाट होइन, साना ठाउंबाट सुरु हुन्छ।

गाउँपालिकाको एउटा स्वास्थ्य चौकी,नगरपालिकाको एउटा विद्यालय, एक उपभोक्ता समितिको पारदर्शिता यी साना कुरा हुन्, तर यिनैबाट परिवर्तनको लहर आउँछ। तर त्यस्तो सम्भव छ जब जनताले सिर्जनात्मक दबाब दिन्छन्, जब समाज राजनीतिक दलको भक्तिभन्दा नागरिक सचेतनामा जाग्छ।

अब निर्णय तपाईंको हो… के तपाईं अझैपनि नाटकको पर्दा पछाडि लुकेर सेवा गर्ने अभिनय गर्दै बस्ने?

सेवामा साँचो बन्ने ?

कि नाटकको पर्दा पछाडि लुकेर आत्मसन्तुष्टि लिने कि अब साँच्चिकै आवाज उठाउने?

मानवताको पक्षमा उभिने?

दलीय मोहभन्दा माथि उठ्ने?

किनकि: अब पनि नसोचेमा,

हामीले बनाएको मौनताको संस्कृति आफ्नै प्रियजनहरूको चिहान बन्नेछ……………


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको