
झापा, पुस– २३ ।
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सुरु भएको जग्गा अधिग्रहणका कारण स्थानीयवासी असन्तुष्ट बनेका छन् ।
जग्गाको उचित मुआब्जा नदिई अधिग्रहणका नाममा उठिबास गराउन खोजेको उनीहरुको आराप छ । जसले विमानस्थलको काम प्रभावित हुने संकेत देखिएको छ ।
विमानस्थल विकास विस्तारको लागि मुआब्जा कम भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । जसले विमानस्थलको काम प्रभावित बनेको छ ।
विमानस्थल विस्तारको नाममा रोक्का गरिएको घरजग्गा फुकुवा गर्नुपर्ने अथवा उचित मुआब्जा सहितको क्षतिपूर्ती तत्काल दिनुपर्ने स्थानीयवासीको माग छ ।
केही समयअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिले बिमानस्थल पूर्वको जग्गालाई पाँच भागमा बिभाजन गरी प्रतिकठ्ठा सात लाखदेखि २२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको थियो ।
११ विगाह जमिन अधिग्रहण गरी विमानस्थल विस्तार र स्तरोन्नतिको तयारीमा जुटिरहेका बेला स्थानीयवासी असन्तुष्ट बनेपछि काम अवरुद्ध हुन सक्ने देखिएको छ ।
भद्रपुर नगरपालिका वडा नम्बर ८ र ९ पर्ने ५६ घरपरिवारबाट करिब ११ बिघा जग्गा चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरले अधिग्रहण गर्न खोजिरहेको छ ।
यता मुआब्जा निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भने स्थानीयवासीलाई मर्का पर्ने गरी जग्गाको मूल्यांकन नगरिएको दाबी गर्छन् ।
स्थानीयको असहमति र बिरोध हुँदाहुँदै पनि भद्रपुर बिमानस्थल कार्यालयले मुआब्जा बितरणको अन्तिम तयारी भइरहेको जनाएको छ ।
तर स्थानीयबासी मुआब्जा नलिने र जग्गा पनि खाली नगर्ने अडानले बिमानस्थल बिस्तारको कार्य अझै पर धकेल्ने निश्चित छ ।
ईमेज खबर