Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

सूचना नै प्रकाशन नगरी नक्कली कागजातका आधारमा भुक्तानी ,पत्रकारसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Reporter

सरकारी ढुकुटीको दुरुपयोग गर्दै पत्रिकामा सूचना नै प्रकाशन नगरी नक्कली कागजातका आधारमा भुक्तानी दिएको आरोपमा रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र सहलेखापाल निलम्बनमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू र यस कार्यमा मिलेमतो गर्ने दुई पत्रकारसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र सहलेखापाल नवीनकुमार यादवले राज्यकोषमा हानि पुर्‍याउने नियतले नक्कली प्रक्रिया अघि बढाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले किसानका लागि स्प्रे ट्यांकी खरिद गर्न बोलपत्र आह्वान गरेको थियो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव र सहलेखापाल यादवले उक्त सूचना ‘जनसवाल दैनिक’ र ‘तराई पोस्ट दैनिक’ मा प्रकाशन भएको भनी कागजात तयार पारे र सोही आधारमा विज्ञापनबापतको रकम भुक्तानी दिए।

तर, अख्तियारले अनुसन्धानका क्रममा प्रेस काउन्सिल नेपालसँग विवरण माग्दा नगरपालिकाले दाबी गरेको मितिमा ती पत्रिकाहरूमा सूचना नै नछापिएको पुष्टि भयो। सूचना प्रकाशन नै नभई नक्कली बिलका आधारमा भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो।

अख्तियारले सरकारी रकम दुरुपयोग गर्ने कर्मचारी र त्यसमा सघाउने पत्रकार एवं प्रकाशकलाई समेत प्रतिवादी बनाएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र सहलेखापाल नवीनकुमार यादवमाथि समान २ लाख १२ हजार २२५ रुपैयाँ बिगो दाबी गरिएको छ।

यसैगरी, तराई पोस्टका प्रतिनिधि ओमप्रकाश यादवविरुद्ध पनि सोही रकम, जनसवाल दैनिकका सम्पादक रामजी बगालेविरुद्ध १ लाख ७२ हजार ८२५ रुपैयाँ र तराई पोस्टका प्रकाशक रुपेन्द्र पटेलविरुद्ध ३९ हजार ४०० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ।

मुद्दा दायर भएसँगै हाल नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत यादव र तत्कालीन सहलेखापाल स्वतः निलम्बनमा परेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको