काठमाडौँ – काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।
काठमाडौँ महानगरपालिकाले गत वर्षको पुस २८ गतेदेखि सुरु गरेको सवारीसाधनको प्रदूषण परीक्षणमा अहिलेसम्म दुई हजार पाँच सय सवारीसाधनमध्ये ५१.४६ प्रतिशत प्रदूषण मापदण्डविपरीत सञ्चालन भएको पाइएको महानगरले जनाएको हो । महानगरले सङ्घीय सरकारको वातावरण विभाग र ट्राफिक प्रहरीसँग सहकार्य गरी प्रदूषण जाँच गर्दै आएको छ ।
काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार प्रदूषण परीक्षणका क्रममा डिजेलबाट चल्ने ६२.८८ प्रतिशत र पेट्रोलबाट चल्ने १५ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ र प्रदूषण नियन्त्रण मापदण्ड–२०८१ का आधारमा सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गर्दै आएको छ ।

