Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

विश्व बैक प्रतिवेदन भन्छ ; नेपालमा हुने वार्षिक मृत्यु र अपागंताको प्रमुख कारण वायु प्रदूषण

Reporter

नेपालमा हुने वार्षिक मृत्यु र अपागंताको लागि सबैभन्दा प्रमुख कारण वायु प्रदूषण रहेको देखिएको छ । विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार कुपोषण  र सुर्तीजन्यपदार्थको प्रयोगलाई उछिनेर यसका लागि वायु प्रदूषण प्रमुख कारण बनेको हो ।

नेपालमा वायु प्रदूषणका कारण बर्षेनी करिब २६,००० जनाको अकाल मृत्युको कारण बनेको र विभिन्न रोगको लागि प्रमुख कारण रहेको सो प्रतिवेदनमा उल्लेख  छ ।

यसैगरी,  ७५ प्रतिशत दीर्घकालीन फोक्सो सम्बन्धी रोग, ४६ प्रतिशत पक्षघात, ४४ प्रतिशत हृदय रोग, ४१ प्रतिशत  श्वासप्रश्वासको संक्रमण जस्ता रोगका लागि वायु प्रदूषणको योगदान देखिएको छ । यसैगरी  ३८ प्रतिशत फोक्सोको क्यान्सर, कम तौल र समय नपुग्दै जन्मने जस्ता नवजात शिशु सम्बन्धी ३० प्रतिशत समस्याहरू र २० प्रतिशत मधुमेह यही कारणले हुने प्रतिवेदनमा भनिएको छ ।

‘टुआर्डस क्लिन एयर इन नेपाल, बिनिफिट्स, पोलुसन सोर्स एण्ड सोलुसन’ नामक उक्त प्रतिवेदनले वायु प्रदूषणले नेपालको अर्थतन्त्रमा गम्भीर आर्थिक प्रभाव पनि गम्भीर पाइएको छ । यसले प्रतिकुल स्वास्थ्यका कारण लिइने बिदामा वृद्धि लगायत अन्य संज्ञानात्मक क्षमतामा कमीका कारण श्रम उत्पादनशीलतालाई असर गर्ने देखिएको छ । साथै, पर्यटन उद्योग र उड्डयन क्षेत्रमा पार्ने नकारात्मक असर पनि उल्लेखनीय रहने गरेका छन् ।

खराब वायु गुणस्तरका कारण प्रत्येक वर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ६ प्रतिशतभन्दा बढी नोक्सानी हुने गरेको प्रतिवेदनको आकलन छ ।

विशेष गरी काठमाडौँ र तराई क्षेत्र बायु प्रदूषणको हिसाबले सबैभन्दा बढी जोखिममा रहेको र यी क्षेत्रमा विगत एक दशकमा प्रदूषणको स्तरमा कुनै खास सुधार नभएको प्रतिवेदनमा उल्लेख  छ । प्रदूषणले  मानिसको स्वच्छ हावा बाच्ने अधिकारलाई पनि खोसेको प्रतिवेदनमा भनिएको छ ।

मानव स्वास्थ्यका लागि सबैभन्दा बढी चिन्ताको विषय हावामा पाइने २.५ माइक्रोघनमिटर (अर्थात पिएम २.५) भन्दा साना विषाक्त कणहरू हुन । यी कणहरू फोक्सो र अन्य महत्त्वपूर्ण अंगमा सिधै प्रवेश गर्न सक्छन् र विभिन्न रोगहरू निम्त्याउँछन् । तत्काल आवश्यक कदम नचालेको अवस्थामा सन् २०३५सम्म राजधानी काठमाडौंको सरदर वार्षिक पिएम २.५को स्तर ५२ माइक्रोग्राम प्रतिघनमिटर पुग्ने र तराईमा यो ४२ माइक्रो ग्राम प्रतिघनमिटर पुग्ने प्रतिवेदनको आकलन छ । ‘यो अवस्थामा थप हजारौँको अकाल मृत्यु हुने र मृत्यु हुनेमा बालबालिका र प्रौढ अत्याधिक हुनेछन् । यसले राज्यको स्वास्थ्य प्रणाली, उत्पादकत्व र प्रतिस्पर्धी क्षमतालाई नराम्रो प्रभाव पार्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।

राजधानीका वायु प्रदूषणका लागि औद्योगिक उत्पादन, कुकिङ तथा सवारी आवागमन प्रमुख रहेको र आगामी १ दशकसम्म पनि यही अवस्था रहने प्रतिवेदनमा आकलन  छ ।

राजधानीको प्रदूषणको एक चौथाइ हिस्सा राजधानी बाहिरबाट आउने र त्यसको आधा हिस्सा देशबाहिरबाट आउने प्रतिवेदनको अनुमान छ । तराई क्षेत्रमा हुने पिएम २.५ प्रदूषणका लागि सीमाबाहिर आउने प्रदूषण जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख  छ।

सवारी आवागमनलाई विद्युतीय पार्ने, सवारी साधनको अनुगमनलाई शख्त पार्ने तथा सडकबाट निस्कने धुलोलाई न्यूनीकरण गर्न प्रतिवेदनको सुझाव छ । स्वच्छ प्रविधिका विकासमा सहयोग गर्न तथा औद्योगिक प्रतिष्ठानले प्रयोग गर्ने इन्धनलाई वातावरणमैत्री पार्न, घरायसी क्षेत्रमा इलेक्ट्रिक चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न प्रतिवेदनले सुझाएको छ । बन डढेलोको नियन्त्रणका लागि नागरिक सचेतना र सुदृढ प्रतिकार्य प्रणालीको व्यवस्था गर्न आवश्यक छ, प्रतिवेदनमा भनिएको छ । सीमाबाहिरबाट आउने प्रदूषण रोकन पनि छिमेकी देशसँग सहकार्य गर्न प्रतिवेदनले औँल्याएको छ ।

‘प्रदूषण रोक्न एकल क्षेत्रमा गरिने सुधार पर्याप्त छैन, यसमा समग्र क्षेत्रको सुधार र समन्वय आवश्यक छ, ’ प्रतिवेदनमा भनिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको