नेपाल चेम्बर अफ कमर्सले दक्षिण सुडान गणराज्यका लागि मानार्थ व्यापार प्रतिनिधिको रूपमा रामप्रसाद पाध्यलाई नियुक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले एक विशेष समारोहका बीच उनलाई नियुक्त गरेका हुन् ।
उक्त नियुक्तिसँगै पाध्यले नेपाल र दक्षिण सुडानबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चेम्बरले विश्वास गरेको छ । चेम्बरका अनुसार, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनहरूको प्रवद्र्धन तथा निर्यात वृद्धिमा पाध्यको अनुभव र योगदान उपयोगी हुने छ ।
नेपाल चेम्बर अफ कमर्सले विदेशस्थित व्यापार प्रतिनिधि पाध्यमार्फत नेपाली व्यापार, उद्योग तथा लगानीका अवसरहरू विश्वमा फैलाउने र स्वदेशमा ल्याउने अपेक्षा राखेको छ ।
पाध्य भर्खरै पुर्नगठन भएको गैरआवासीय नेपाली संघ दक्षिण सुडानका अध्यक्ष समेत हुन् । उनी लामो समयदेखि दक्षिण सुडानमा सक्रिय रूपमा कार्यरत रहेका छन् भने कम्बोडियामा पनि व्यवसायमा संलग्न रहेका छन् ।
त्यसैगरी, पाध्या नेपालमै पनि व्यापारिक क्षेत्रमा क्रियाशील रहेका छन् । नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका पाध्य इन्फ्रा नेपाल इनभेष्टमेण्ट कम्पनीका अध्यक्षसमेत रहेका छन् ।
अध्यक्ष अग्रवालले पाध्यलाई प्रमाणपत्र हस्तान्तरण गर्दै भने –‘पाध्यजस्तो अनुभवी र अन्तर्राष्ट्रिय स्तरमा सक्रिय व्यक्तित्वले मानार्थ प्रतिनिधिको रूपमा काम गर्दा नेपाल चेम्बर अफ कमर्सको सेवा विस्तार हुने र अन्तर्राष्ट्रिय साझेदारीमा थप सहजता आउने अपेक्षा गरिएको छ ।’
मानार्थ व्यापार प्रतिनिधिको जिम्मेवारी पाएका पाध्यले नेपाल र दक्षिण सुडानबीच व्यापारिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालमा विदेशी लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

