थाइल्याण्डको राजधानी बैंककमा ‘दोस्रो ग्लोबल एक्सिलेन्सी अनर, आर्ट म्युजिक एण्ड बिजनेस कन्फ्रेन्स-२०२५’ सम्पन्न भएको छ । नेपाली कलाकार, पत्रकार, ब्युटिसियन तथा थाइल्याण्डका कलाकार र संस्कृतिविद् सहभागी सो कन्फ्रेन्समा नेपाली गीतसंगीत, भाषा र संस्कृतिको जगेर्ना तथा प्रवासी नेपाली समुदायबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको संयोजन गायिका तथा सञ्चारकर्मी सरिता भारतीले गर्नुभएको थियो । उहाँले स्वागत मन्तव्य दिँदै प्रवासी नेपालीलाई एकताबद्ध गर्न मलेसियापछि थाइल्याण्डमा कन्फ्रेन्स आयोजना गरिएको बताउनुभयो । विलक्षण क्रियसन प्रा.लि.द्वारा आयोजित कार्यक्रममा थाई नेपाली संघकी संस्थापक, संरक्षक तथा वरिष्ठ प्राध्यापक भारती लिम्बुनीले म्यान्मार र थाइल्याण्डमा रहेका नेपाली भाषीहरूको अवस्था र संस्कृतिप्रतिको लगावबारे धारणा राख्नुभयो । उहाँले यस्तो सम्मेलनले प्रवासी नेपालीबीचको सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय आवाज सुवेदीले नेपाली कला र संस्कृतिको प्रवद्र्धनमा चलचित्र पत्रकारहरूको योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा सहजीकरण पनि गर्नुभएका सुवेदीले संघको शाखा युएई र जापानपछि थाइल्याण्ड तथा मलेसियामा विस्तार गर्ने जानकारी दिनुभयो । संघका सचिव नवीन गिरीले मिडियामार्फत प्रवासी नेपालीका समस्या उजागर गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा नेपालबाट अभिनेता तथा मोडल श्रीदेव भट्टराईले थाइल्यान्डमा नेपाली चलचित्र र म्युजिक भिडियो छायांकनको सम्भावनाबारे धारणा राख्दै स्थानीय कलाकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयोे । मोडल तथा डान्सर खुसी कार्कीले थाइल्याण्डमा नेपाली भाषी कलाकारहरूको अवस्था र आफ्ना सांगीतिक अनुभव साझा गर्नुभयो ।
एभरेस्ट किचन थाइल्याण्डका प्रबन्धक श्याम राईले नेपाली परिकार र खानाको संस्कृतिको प्रवद्र्धनमा आफूहरूले गरिरहेको प्रयासबारे जानकारी गराउनुभयो । कार्यक्रममा पत्रकार तथा गीतकार डब्बु क्षत्रीले म्यान्मारका नेपाली भाषी युवायुवतीहरू जबरजस्ती आप्रवासनमा धकेलिनु परेको विषयमा चिन्ता व्यक्त गर्नुभयो । साथै, थाई नेपाली संघ र एनआरएन थाइल्याण्डले भाषा र संस्कृतिको संरक्षणमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
कन्फ्रेन्समा विभिन्न क्षेत्रका प्रतिभाहरूलाई ‘ग्लोबल एक्सिलेन्सी अनर-२०२५’ बाट सम्मानित गरिएको थियो । थाइल्याण्डबाट प्रा.भारती लिम्बुनी र थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्की सम्मानित हुनुभएको थियो । नेपालबाट अभिनेता श्रीदेव भट्टराई, पत्रकार विजय आवाज सुवेदी, पत्रकार नवीन गिरी र गायक हेमन्त शिशिरलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै, चेली मेकअप स्टुडियोकी अध्यक्ष विना रानामगर, सोही स्टुडियोकी ब्युटिसियन अमला शाही (अमिसा), एन्जल ब्युटी पार्लर (बरहथवा)की सञ्चालक राजेश्वरी शिल्पकार, सुजिता ब्युटी पार्लर (धादिङ)की सञ्चालक एवं ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ की फष्र्ट रनरअप सुजिता अधिकारी तथा स्पार्क ब्युटी पार्लरकी अध्यक्ष निरन तामाङलाई पनि सम्मान प्रदान गरिएको थियो । मोडल खुसी कार्कीलाई कदरपत्र प्रदान गरिएको थियो । समारोहमा गायक हेमन्त शिशिरले आफ्ना आधा दर्जन गीत प्रस्तुत गर्दै माहौललाई संगीतमय बनाउनुभएको थियो ।

