काठमाडौं, पुस-२५ ।
राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान छ । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको छ । यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् ।
सरकारको भवनको लाभ यो मलमा पसिना बगाइरहेका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेका छन् । मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा छ । जुन सिधा यहाँ व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरुसँग जोडिन्छ । उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएकाले नै एउटा भवन आज आमजनको विश्वासिलो किनमेल केन्द्रका रुपमा सुपरिचित छ ।
व्यवासाय क्षणिक लाभका लागि मात्रै गरिँदैन । दीर्घकालिन लाभको अपेक्षा सहित घरखेत बन्दकी राखेर गरिएको हुन्छ । काठमाडौं मलमा व्यवसाय गर्नेहरुले पनि भविष्यको आशाले वर्तमानमा संघर्ष गरिरहेका हुन् । अनेक उपाय अपनाएर ग्राहकको विश्वास जितेका हुन् । यसरी लागिरहेका व्यवसायीहरुलाई ढुक्क आफ्नो व्यवसाय गर्ने वातावरण बनाउनको सट्टा सधैं अस्थिरता सिर्जना गरेर त्रासपूर्ण वातावरण बनाउने काम भइरहेको छ । अनियमितता, अपारदर्शीता र अव्यवस्थाको चंगुलमा फस्दै गइरहेको मललाई त्यसबाट उम्काउनु अब व्यवसायिक हित मात्रै रहेन, देशको सम्पत्ति सुरक्षा गर्नु पनि सवै नागरिकको दायित्व हुन आउँछ ।
विचौलियाले देखाइरहेको त्रास, गरिरहेको गुन्डागर्दी र बनाइरहेको भयको वातावरण विरुद्ध यहाँका व्यवसायी बोल्न डराइरहेका अवस्था छ । तर, यसबाट डराएर बस्नु आत्महत्याको बाटो स्वीकार्नु जस्तै रहेको महशुस गर्दै चौथो तल्लामा व्यवसाय गर्दै आइरहेकी शुष्मा महराको नेतृत्वमा आवाज उठाउन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सहयोग समेत रहेको यो अन्याय विरुद्ध जुध्न १ सय ५० भन्दा बढी व्यवसायी ऐक्यबद्ध भएका छन् । यसका साथै यी व्यवसायीको समर्थनमा समन्वय समिति गठन गरिएको छ । यसलाई अझ प्रभावशाली बनाउन ७ सदस्यीय समितिबाट १४ सदस्यीय बनाइएको छ ।
काठमाडौं मल समन्वय समितिको अपिल:
आगामी दिनमा मलका व्यवसायी र काठमाडौं मलको हकहितका लागि निम्न बुँदाहरुलाई मध्यनजर गरी छलफल तथा समन्वयका लागि सरोकारवाला सवैमा हार्दिक अनुरोध गरिन्छ ।
१. मलमा सधैं कमचारी सञ्चय कोषले एक्कासी ठेकेदार पठाउने र ठेकेदारले मनपरी भाडा उठाउने प्रवृत्ति रहेकाले आगामी दिनमा पसलको भाडा ब्यपार समितिले ब्यवसायीसँग भएको सम्झौता पत्रअनुसारको रकम र नयाँ पषसल राखेकाहरु लाई समेत त्यसैको आधारमा भाडा रकम तय गरेर मात्र ठेक्का प्रक्रिया अगाडी बढाउनु पर्ने । यसले ठेक्कामा लिने ठेकेदार समेत कति भाडा उठछ भन्ने प्रष्ट हुने छ ।
२. पछिल्लो समय शिवलक्ष्मी कोजुको टेन्डर कर्मचारी सञ्चय कोषले रद्द गरिसकेको अवस्थामा अर्को टेन्डरको ब्यवस्था नहुन्जेल सम्म कर्मचारी संचय कोषले व्यवसायीहरु मिलेर सञ्चालन गर्न भनिरहेको छ । तर, यो फेरि पनि मल हत्याउन चाहने विचौलियालाई बाटो खोलिदिनु सरह हो । पहिलेकै प्रक्रिया र चलखेलको पुनरागमन हो । यसलाई व्यवस्थित व्यवसायीहरुको सहयोगमा संचय कोष आफै आएर पारदर्शी रुपमा केही समय सञ्चालन गर्नुपर्छ । यसले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने समेत तय गर्नेछ भने व्यवसायी पनि ढुक्क हुने वातावरण बन्नेछ ।
३. काठमाडौं मल भवन धेरै पुरानो नभइसकेकाले केही मर्मत सम्हार गरे व्यवस्थित हुने देखिन्छ । त्यसका लागि यहाँका पार्किङ, शौचालय, लिफ्ट, एक्साभेटर नचल्ने अवस्थाले व्यवसायलाई मार परेकोले तत्काल कर्मचारी सञ्चय कोषले मर्मतसम्हार गर्नुपर्ने ।
४. विभिन्न समय र अवस्थामा काठमाडौं मलमा अनियमितता भएको देखिन्छ । यसका लागि कर्मचारी सञ्चय कोषले तत्काल छानविन कमिटि बनाइ छानविनको प्रक्रिया अघि बढाउनु पर्ने ।
५.मलमा व्यवसायी भन्दा बाहिरका मान्छेको हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने ।
६. मल अगाडिको फुटपाथमा बाटो नै बन्द हुनेगरी राखेको पसलले मल आवातजावतमै समस्या परेको हुनाले हटाउन तत्काल पहल गर्ने ।
७.काठमाडौं मलमा नेपाल उद्योग वाणिज्य संघका कर्मचारीमाथि हमलाको आदेश दिनेमाथि कार्वाही गर्नुपर्ने ।
८. डर र त्रास देखाएर सटरहरु बन्द गराइएको छ । कमचारी सञ्चय कोषको सूचना पछि बन्द भएका ब्यवसायीका सटरहरु तत्काल खुलाउनु पहल गर्नुपर्ने । र सामान खरिद गर्न आउने सुबिदाको लागि राखिएको एटीएमहरु हटाईएकोमा तत्काल ति एटिएमहरु सञ्चालनमा ल्याउने ।
९. सधैं विवाद, अन्योलता र अस्थिरता बीच गुज्रिरहेको मल सञ्चालनलाई व्यवस्थित गर्न उचित ऐननियम निर्माण गरिनुपर्ने ।