जनकपुरधामस्थित एक होटलमा विवाहेत्तर सम्बन्धका कारण भएको एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा एक युवती पक्राउ परेकी छिन् ।
शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–४ स्थित जिरोमाइलको होटल ‘एसपी एण्ड गेष्ट हाउस’ को कोठा नं. १०२ मा महोत्तरीको पर्सा गाउँपालिका–१ पर्सा टोल निवासी ३२ वर्षीय शनी भनिने विमलेश यादव र महोत्तरीकै बलवा नगरपालिका–७ बनौटाकी २४ वर्षीया जुली झा बसेका थिए ।
सीसीटीभी फुटेजअनुसार बिहान करिब २:५७ बजे यादव नग्न र रगताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेका थिए । त्यसको केही मिनेटपछि जुली झा तल ओर्लिएर यादव नजिकैबाट भागेको दृश्य क्यामेरामा कैद भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा तत्कालै पुगेको प्रहरी टोलीले गम्भीर घाइते यादवको बयान लिएको थियो । यादव आफ्नै कदममा हिंडेर एम्बुलेन्स चढे पनि आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भयो ।
घटनापछि फरार भएकी झा आइतबार दिउँसो १२ बजे महोत्तरीको परौल क्षेत्रतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेकी हुन् । उनलाई सोमबार धनुषा प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार यादव र झा विगत तीन वर्षदेखि विवाहेत्तर सम्बन्धमा थिए । यादव विवाहित र दुई सन्तानका पिता हुन् । दुवै परिवारले दुई वर्षअघि उनीहरूबीचको सम्बन्धविरुद्ध प्रहरीमा उजुरी दिएका थिए र त्यसपछि लिखित सहमतिमा कुराकानी बन्द गरेका थिए । तर, विदेशबाट पनि यादवले झासँग सम्बन्ध निरन्तर राखेका थिए ।
यादव वैदेशिक रोजगारीमा कतार गएर फर्किएका थिए र उनले झालाई करिब २७ लाख रुपैयाँ पठाएको उनका आफन्तले बताएका छन् । यही आर्थिक विषयलाई लिएर पछिल्लो समय उनीहरूबीच खटपट भएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार हत्या योजनाबद्ध ढंगले भएको हुनसक्ने आशंका छ । ‘झाले ब्ल्याकमेलिङ, सम्बन्ध विच्छेद र पैसा फिर्तासम्बन्धी झगडाका कारण योजनाबद्ध ढंगले हत्या गरेकी हुन सक्ने प्रारम्भिक आकलन छ,’ प्रहरी अधिकारीले भने ।
यसैबीच, मृतकका आफन्तले घटनाको बेलामा होटलको सीसीटीभी फुटेज करिब १७ सेकेन्ड बन्द भएको भन्दै अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् । धनुषा प्रहरीका अनुसार हाल झामाथि अनुसन्धान जारी छ ।

