
काठमाडौं, पुस- २६ ।
प्रदेश नम्बर १ की सांसद उषाकला राईले कपाल मुण्डन गरेर आमाको किरिया आफैं गर्दैछिन्।
बुधबार राजधानीको एक अस्पतालमा उषाकलाकी आमा लक्ष्मी राईको उपचारका क्रममा निधन भएको थियो।
हिन्दु परम्पराअनुसार दिवंगत आमाबुवाको किरिया छोराले गर्ने चलन भए पनि सांसद राईले त्यो चलन तोडेर आफै किरियामा बसेकी हुन्। उनका कुनै दाजुभाइ छैनन्।
सांसद राईका पति पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले काजकिरिया गर्ने व्यक्तिलाई ‘किरियापुत्री’ भन्ने शब्द प्रयोग गर्ने गरिएको भएपनि छोराले मात्र किरिया बस्ने प्रचलन रहेको उल्लेख गर्दै उषाकला राईले किरियापुत्री शब्दको वास्तविक अर्थ उनले आफु किरिया बसेर दिएको उल्लेख गरेका छन्।
तामाङले फेसबुकमा यहि प्रसंगमा लेखेका छन् -उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ। महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रति सम्मान र समर्थन छ।
