
वीरगन्ज, पुस-३०।
दक्षिण एसियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजनाकारुपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत् भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ ।
सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म करिब ७० किलोमिटर लम्बाइको छ ।
तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२.२५ किलोमिटर र सीमावर्ती भारतीय सहर रक्सौलबजारदेखि बाराको अमलेखगन्जसम्म ३७.२५ किमि छ ।
परियोजनाअन्तर्गत् पाइप बिछ्याउने काम द्रुतगतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सन्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।
नेपालतर्फ ३७.२५ किलोमिटर भू–भागमध्ये गन्डकदेखि परवानीपुरसम्म करिब एक किमि र पर्सा राष्ट्रिय निकुञ्जको ९ किमि गरी कुल १० किमि भू–भागमामात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले बताए ।
भारत, विहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले सो क्षेत्रमा करिब चार किमि पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराइ वीरगन्ज भन्सारको शंकराचार्य गेटसम्म ल्याउने काम भइरहेको बताइएको छ ।
नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो परियोजना भारतीय आयल कर्पोरेसन (आइओसी)को दुई अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ ।
परियोजनाले सन् २०१९ को फेब्रुअरीसम्म पाइप गाड्ने काम सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ ।
जितपुर तथा परवानीपुरको केही भू–भागमा जमिनमुनि दुलो पारेर (ड्रिलिङ प्रविधिबाट) पाइप गाडिएको छ । यो प्रविधिबाट सडकको पैदलमार्ग (फुटपाथ)को ठीक तल जमिनमुनि ८ देखि १६ मिटरसम्म पाइप गाडिएको छ ।
पूर्व–पश्चिम राजमार्गको सडकखन्डमा पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले त्यस भेगका करिब ६ हजार ५०० ठूला तथा चार हजारजति साना रुख काट्नुपर्ने देखिन्छ ।
परियोजनाले सुरुमा भारतीय सीमावर्ती बजार रक्सौलबाट पाइप ल्याउने भनिएपनि अहिले विस्तार भएर मोतिहारीसम्म पुगेकाले काम बढ्न गएको हो ।
भारतीय आयल कर्पोरेसनले मोतिहारी डिपोलाई पूर्णरुपले बनाइ नसकिएकाले केही ढिलो भएको प्राविधिकको भनाइ छ ।
पहिलो चरणमा १९० किलोलिटर प्रतिघन्टाका दरले विहारको राजधानी पटनाबाट डिजेल आउनेछ ।
तर, मोतिहारी डिपो सन्चालनमा आएपछि प्रतिघन्टा २०० किलोलिटर डिजेल अमलेखगन्ज डिपोमा भन्डारण हुनेछ ।
भारतीयपक्षले सन् २०१९ सम्म मोतिहारी डिपोको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ ।
मल्टी प्रोजेक्ट पाइपलाइन भएकाले यसबाट डिजेल, पेट्रोल र मट्टितेलसमेत आयात हुनेछ । परियोजना सन्चालनमा आएपछि सुरुमा डिजेलमात्र आयात गरिनेछ ।
मागको करिब ६० प्रतिशत डिजेल पाइपबाट नेपाल भित्रिने नेपाल आयल निगमले जनाएको छ ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सन्चालनमा आएपछि नेपाललाई निकै आर्थिक लाभ हुने यहाँका व्यापारीको भनाइ छ ।
यसबाट वीरगन्ज नाका तथा भन्सार क्षेत्रमा हुने लामो जाम र भीड अन्त्य हुने तथा वीरगन्ज–पथलैया सडकखन्डमा हुने ट्यांकरको चाप पनि घटेर जाने विश्वास लिइएको छ ।
नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाट भित्रिने भएकाले पनि पाइपलाइन सन्चालनमा आएपछि सहज हुने विश्वास लिएको छ ।
नेपाल आयल निगमले अहिले भारतको बैरगनिया र रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल, हाइस्पीड डिजल र हवाई इन्धन ट्यांकरमार्फत् अमलेखगन्ज डिपोमा आयात गर्दै आएको छ ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सन्चालनमा आएपछि भारतको डिपोबाट प्रतिघन्टा दुई लाख लिटर इन्धन अमलेखगन्ज डिपोमा ल्याउने लक्ष्य नेपाल आयल निगमले लिएको छ ।
सरकारले मोतिहारी–अमलेखगन्ज पाइपलाइनलाई भविष्यमा विस्तार गरी चितवनसम्म लैजाने लक्ष्य लिएको छ ।
करिब १४ वर्षअगाडि सन् २००४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच भएको समझदारीअनुसार पाइपलाइनमार्फत् नेपालमा सीधै पेट्रोलियम पदार्थ ल्याउने उद्देश्यसहित परियोजनाले गति लिएपनि खासै प्रगति भने देखिएको थिएन ।
पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमण गर्दा तत्कालीन संविधानसभामा पाइपलाइन परियोजनालाई अघि बढाउने भनेपछि यो परियोजनाले गति लिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा भएको भारत भ्रमणकाक्रममा नयाँदिल्लीको हैदरावाद हाउसबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा शिलान्यास गरेपछि सो परियोजनाले गति लिएको हो ।
अहिले नेपालतर्फ वीरगन्ज भन्सारको शंकराचार्यद्वारनजिक पाइपलाइन निर्माणका लागि खाल्डो खनेर जमिनमुनि पाइप बिछ्याउने काम भइरहेको छ ।
(रासस)
