काठमाडौं, पुस-३० ।
नेपाल लगातार तेस्रो जितसहित थाइल्यान्डमा जारी महिला टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पाराजित गर्यो ।
युएईले दिएको १०६ रनको सामान्य लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको लागि ओपनर सीता रानामगरले सर्वाधिक ३७ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रनको योगदान दिइन् ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०५ रन जोडेको थियो ।
छाया मुघलले सर्वाधिक ३१ रन बनाएको युएईको इनिङ्समा तीन खेलाडी रनआउट भएका थिए ।
नेपालका लागि सोनु खड्का, सीता रानामगर र करुणा भण्डारीले समान एक/एक विकेट लिए ।
पहिलो खेलमा चीनलाई १० विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल लगातार तेस्रो जितसहित अन्तिम चारमा पुगेको हो ।
समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार आयोजक थाइल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ ।

