रास्वपाका प्रतिनिधिसभा सदस्य असिम शाहले पदबाट राजीनामा दिएका छन् । सरकारले जेनजी आन्दोलनप्रति देखाएको रवैयाको विरोधमा उनले राजीनामा दिएका हुन् ।
सांसद शाहले आफ्नो राजीनामा सार्वजनिक गर्दै भनेका छन्, ‘सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर अमानवीय कदम चालेको छ । नागरिक अधिकारमाथि भएको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएकोले मैले पद त्याग गर्ने निर्णय गरेको हुँ ।’
उनले संसदमा बारम्बार युवाको आवाज उठाएको बताएका छन् । तर सरकार चलाउनेहरूले सुन्न नचाहेको स्मरण गरेका छन् । ‘संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो । भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको छ,’ उनले भनेका छन् ।
राजीनामा पत्रमा उनले संसदमा चुप लागेर बस्नु या गलत नीतिलाई मौन समर्थन गर्नु आफ्नो पुस्ता, मतदाता र देशको भविष्यसँग विश्वासघात हुने बताएका छन् ।
‘सांसद मेरो लागि पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो । तर जब त्यो आवाज नै दबाइयो, सरकार जनप्रतिनिधिप्रतिको प्रतिबद्धताबाट पछि हट्यो, म त्यस्तो संसदमा बसिरहन सक्दिन,’ शाहले उल्लेख गरेका छन् ।
शाहले अब संसदमा होइन, सडकमा उत्रेर जेनजी पुस्ता, नागरिक र सत्यको पक्षमा लड्ने प्रतिबद्धता जनाएका छन् ।

