काठमाडौं – सत्ता परिवर्तनपछि पहिलोपटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आवाज सार्वजनिक गरेका छन्। उनले जेन–जी पुस्तालाई सम्बोधन गर्दै आफ्नो जीवनको मूल उद्देश्य व्यवस्था जोगाउनु भएको बताएका छन्।
शिवपुरीमा नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर सार्वजनिक गरिएको सम्बोधनमा ओलीले आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण मार्गमा अडिन आग्रह गरे।
ओलीले भने, “२०५१ सालमा म गृहमन्त्री हुँदा राज्यको तर्फबाट एउटा पनि गोली चलेको थिएन। हिंसा मेरो जीवनमा देखिसकेको हुँदा सधैँ शान्तिको पक्षमा उभिँदै आएको छु।”
उनले पछिल्ला घटनालाई षड्यन्त्रको उपज भन्दै जेन–जीलाई त्यसमा संवेदनशील रहन चेतावनी दिए।
ओलीले आफ्नो राजनीतिक यात्रामा जिद्दीपनका कारण धेरै कठिनाइ भोग्नुपरेको भन्दै सीमांकन, धार्मिक स्थल र सामाजिक सञ्जाल नियमन जस्ता विषयमा आफू अडिग रहेको उदाहरण पनि दिए।
“पद र प्रतिष्ठाभन्दा पनि मेरो लागि यो व्यवस्था जोगाउनु नै ठूलो कुरा हो। यही व्यवस्थाले तिमीहरूलाई बोल्ने, आन्दोलन गर्ने र प्रश्न गर्ने अधिकार दिएको छ। यही मेरो जीवनको मूल उद्देश्य हो,” ओलीले भने।

