काठमाडौं । जेनजी समूह र नेपाली सेनाबीच आज (बिहीबार) वार्ता हुने भनिए पनि प्रक्रिया अस्पष्ट भएकाले अन्योल कायम भएको छ।
बुधबार वार्ता सम्भावना भए पनि जेनजी समूहभित्रै नेतृत्व चयनको विवादले छलफल अघि बढ्न सकेको थिएन। जंगी अड्डा पुगेका प्रतिनिधिलाई सेनाले “ग्रुप लिडर” एक जना र अन्य १० जना नेतृत्वको नाम, फोन नम्बर सहित आधिकारिक रूपमा प्रस्तुत गर्न आग्रह गरेको थियो।
जेनजीभित्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिनुपर्ने प्रस्ताव आएको छ भने अर्को समूहले धरानका मेयर हर्क साम्पाङको नाम अघि सारेको थियो। यही कारण वार्ता प्रक्रिया रोकिन पुगेको हो।
यसबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सुशीला कार्कीलाई समर्थन रहेको सार्वजनिक रूपमा बताएका छन्। कार्कीले पनि प्रस्तावबारे सकारात्मक रहेको संकेत गरेकी छन्। तर, संसद् विघटन नभइसकेको अवस्थामा सेना–जेनजी वार्ता प्रक्रियागत रूपमा उचित हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अझै स्पष्ट निर्णय नलिएको बताइएको छ।
कार्की नजिकको स्रोतले भन्यो, “संसद् अझै कायम छ, राजनीतिक दलहरू विद्यमान छन्। यस्तो अवस्थामा जंगी अड्डामा गएर वार्ता गर्नु प्रक्रियासम्मत हुन्छ कि हुँदैन भन्ने प्रश्न गम्भीर छ। सेना दिने, अरूले लिने जस्तो स्थिति नबनोस् भन्नेमा हामी सतर्क छौं।”
त्यसैले, आज निर्धारित वार्ता औपचारिक रूपमा हुने/नहुने अनिश्चित बनेको छ।

