रामेछाप कारागार तोडेर भाग्ने प्रयास गर्ने क्रममा बिहीबार बिहान दुई कैदीको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाका अनुसार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाइएका ताल्चा फोडेर बाहिर निस्कने प्रयास गरेपछि अवस्था नियन्त्रण बाहिर जाने देखिएपछि नेपाली सेनाले गोली चलाएको हो।
गोली लाग्दा दुई कैदीको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको थापाले बताए। उनका अनुसार अन्य १० जना कैदी पनि घाइते भएका छन्। घाइतेको रामेछाप अस्पतालमा उपचार भइरहेको छ।
“सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्यो,” सीडीओ थापाले भने।
हाल कारागारलाई नियन्त्रणमा लिइसकिएको जनाइएको छ। कारागारमा हाल १६ महिला र ३१८ पुरुष गरी कुल ३३४ जना कैदी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन्।
लोकप्रिय समाचार

