काठमाडौं — चुनावी सरकारको नेतृत्व गर्न प्रयासरत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ‘विदेशी शक्तिको प्रधानमन्त्री’ भएको आरोप लगाएका छन्।
प्रधानसेनापति अशोक सिग्देलसँग भेटेर समर्थन जुटाउने प्रयास असफल भएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, “विदेशी शक्तिको प्रधानमन्त्री जो भए पनि जनताको प्रधानमन्त्री मै हुँ। साराले रुचाए पनि डिजाइनरले रुचाएनन्। आज जेनजीको मत सर्वेक्षण गर्दा हुन्छ। भत्किएको देश बनाउन सक्थेँ, भिजन र योजना छ मसँग।”
यसअघि, राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बेलुकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई आगामी ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। शीतल निवासको भित्री कोठामा सामान्य रुपमा सम्पन्न शपथ समारोहमा ‘हामी नेपाली’ नामक एनजिओका प्रमुख सुदन गुरुङसहितका केही प्रतिनिधिहरू देखिएका थिए। तर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने अनुपस्थित रहे।

