काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि कारागार फर्किने भएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफैंलाई कारागार पठाउने घोषणा गरेका हुन्।
लामिछानेले लेखेका छन्, “संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।”
उनले पछिल्लो सरकारले चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिन्दगी हराम बनाएको दाबी गरे। “आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,” उनले भनेका छन्।
सहकारी प्रकरणमा कुनै संलग्नता नभएको दाबी गर्दै उनले थपे, “जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणसहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमा नै छोड्छु।”
सहकारी ठगी मुद्दामा उनी यसअघि नख्खु कारागारमा रहेका थिए। तर जेनजी आन्दोलनको क्रममा अनियन्त्रित भिडको सहयोगमा उनी रिहा भएका थिए। त्यसबेला भएको चौतर्फी आलोचनापछि लामिछाने फेरि कारागार फर्किन लागेका हुन्।

