काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। मणिपुरको कार्यक्रममा सम्बोधन गर्दै उनले कार्कीलाई प्रधानमन्त्री पद सम्हालेको अवसरमा शुभकामना दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे।
मोदीले भने, “मणिपुरको धर्तीबाट नेपालका साथीहरूसँग पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल भारतको नजिकको मित्र हो। हामी साझा इतिहास र अस्थाबाट जोडिएका छौं। म नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री पद सम्हाल्नुभएकोमा १४० करोड भारतीयको तर्फबाट श्रीमती सुशीलाजीलाई बधाई दिन चाहन्छु।”
उनले नेपालले पहिलो महिला प्रधानमन्त्री पाउनु महिला सशक्तीकरणको ठूलो उपलब्धि भएको बताए। “नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको ठूलो उदाहरण हो। अस्थिरताका बावजुद लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राख्ने प्रत्येक नेपालीको सराहना गर्न चाहन्छु,” मोदीले भने।
युवाहरूले सुरु गरेको सफाइ अभियानको पनि मोदीले खुलेर प्रशंसा गरे। “पछिल्ला दुई–तीन दिनदेखि नेपालका युवायुवतीहरूले सडक सफाइ र रंगरोगनमा देखाएको पवित्र भावना प्रेरणादायी छ। यो नेपालको नवोदयको स्पष्ट संकेत हो। नेपालको उज्ज्वल भविष्यको शुभकामना दिन चाहन्छु,” उनले बताए।

