नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले यो वर्षको दसैं र तिहारमा महँगो टिकट नबेच्न एयरलाइन्स सञ्चालकलाई आग्रह गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा रहेका एयरलाइन्सको भाडा न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिदिएको छ। एयरलाइन्सले प्राधिकरणले दिएको न्यूनतम र अधिकतमलाई टेकेर मूल्य फेरबदल गर्दै आएका छन्। मुलुकले ठूलो आपद् बेहोरेको, मानवीय र भौतिक क्षति भएकाले नाफा नहेरी ‘मिड रेन्ज’ मूल्यमै टिकट बेच्न उनले अनुरोध गरेका हुन्।
वायुसेवा सञ्चालक सघले आयोजना गरेको सेफ्टी क्याम्प उद्घाटन कार्यक्रममा महानिर्देशक अधिकारीले अधिकतम मूल्यमा टिकट बेच्नेलाई काबारही गर्न कानुनले नदिए पनि मानवताको आधारमा दुःखमा साथ दिन आग्रह गरे।
दसैं–तिहारका बेला यात्रा गर्नेहरुको संख्या बढ्दा एयरलाइन्सले न्यूनतम मूल्यको टिकट सकिएको भन्दै अधिकतम मूल्यमा बेच्दै आएका छन्।

