ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गत लामो समयदेखि अलपत्र रहेका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन्।
मन्त्री कुलमान घिसिङले सचिव र विभागीय प्रमुखलाई तत्काल जीर्ण आयोजना पहिचान गरी सूची पेश गर्न निर्देशन दिएका छन्। उनले काम नगर्ने निर्माण व्यवसायीलाई अनुहार हेरेर बचाइने अवस्था अब नहुने स्पष्ट पारे।
संसद भवन पुसभित्रै सक्ने निर्देशन
घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन आगामी पुसभित्रै सक्नुपर्ने बताए। पाँचपटक म्याद थपिएको यस आयोजना अहिले ८६ प्रतिशत मात्र प्रगति भएको छ। उनले बाँकी कामलाई तुरुन्तै सम्पन्न गर्न सबै पक्षलाई आह्वान गरे।
अनियमितामा शून्य सहनशीलता
मन्त्री घिसिङले निकायभित्र हुने अनियमितामाथि कडा चेतावनी दिँदै, “एक रुपैयाँ पनि अनियमिता फेला परेमा कसैलाई छाडिँदैन,” भने। भ्रष्टाचार नियन्त्रण जनताको प्रमुख अपेक्षा भएकाले सबै निकाय जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

