जेनजी आन्दोलन नियन्त्रणका क्रममा १९ युवा मारिएपछि २०७९ भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक संविधान दिवसको अवसर पारेर सार्वजनिक अभिव्यक्ति दिएका छन्।
नेपाली सेनाको ब्यारेकबाट ९ दिनपछि असोज २ गते बाहिरिएका ओलीले भोलिपल्ट फेसबुकमार्फत आफ्नो लिखित वक्तव्य जारी गरेका हुन्। धेरैको अनुमान थियो— तत्कालीन प्रधानमन्त्रीका हैसियतले उनले आत्मसमालोचना गर्नेछन् वा गल्ती स्वीकार्नेछन्। तर, ३८९ शब्दको वक्तव्यमा उनले कुनै कमजोरी स्वीकार नगरी बरु आफू नेतृत्वमा रहँदा देश “उन्नतिको मार्गमा थियो” भन्ने दाबी गरे।
ओलीले जेनजी आन्दोलनलाई “षड्यन्त्रपूर्वक उत्पन्न गरिएको” अभिव्यक्त गर्दै भने,
“प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश सरकारले दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी हिंसा मच्चाइएको थियो। यसबारे सत्य उजागर गर्न छानबिन अपरिहार्य छ।”
उनले आन्दोलनलाई काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गर्ने प्रयत्नका रूपमा व्याख्या गर्दै भने, “देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने कुरा हाम्रो नयाँ पुस्ताले आफैँ अनुभूत गर्ने छ।”
सिंहदरबार र विभिन्न सरकारी तथा निजी संरचनामाथि गरिएको तोडफोडलाई उनले संविधानमाथिको आक्रमणको संज्ञा दिँदै सबैलाई संविधान र सार्वभौमसत्ता बचाउन आह्वान गरे।
ओलीले आफ्नो वक्तव्यको अन्त्यमा भने,
“हामी सबै पुस्ताका नेपाली एकजुट भई संविधानको रक्षा र सार्वभौमसत्ताको संरक्षण गर्नुपर्छ। यही नै हाम्रो अस्तित्व र स्वतन्त्रताको कवच हो।”

