नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो अभिभावकमाथि आक्रमण भई अस्पतालमा उपचार भइरहेका संवेदनशील अवस्थामा पार्टीभित्र सुरु गरिएको नेतृत्व परिवर्तनसम्बन्धी बहस अनुचित भएको टिप्पणी गरेका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनपछि कांग्रेसमा उठेका नेतृत्व परिवर्तनका प्रस्तावहरूलाई लक्षित गर्दै यस्ता टिप्पणी गरेका हुन्। कांग्रेस महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको पहल गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।
‘अभिभावकमाथि सघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन सकिन्न ? आकाश झरिहाल्छ ?’ महतले प्रश्न गर्दै भने, ‘अवश्य पनि पार्टीका संरचनामा छलफल हुन्छ, घटनाको मूल्याङ्कन पनि हुन्छ र सुधार पनि हुन्छ, तर त्यसका लागि पर्खनुपर्छ।’
उनले कार्यसम्पादन समितिबाट आधिकारिक निर्णय भएकोबाहेक अन्यत्रबाट सुरु भएको नेतृत्व बहस पार्टी हितमा नहुने स्पष्ट पारे। महतको भनाइमा यस्तो बेला नेतृत्व हस्तान्तरणको कुरा गर्नु देशलाई निरन्तर अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिलाई बल पुर्याउने काम मात्र हो।
‘सहज हुँदा प्रशंसा र अप्ठेरो पर्दा गालीगलौज गर्नु, घाउमा नुन छर्ने प्रवृत्ति गलत हो,’ उनले थपे, ‘सन्तुलित, संयमित भई सघन मन्थन गरेर सामूहिक निष्कर्षमा पुग्न सके मात्रै पार्टी र देश अप्ठेरोबाट बाहिर निस्कन सक्छ।’
महतले चार दिनअघि सम्म सभापति नेतृत्वप्रति नै नजिक रहेका नेताहरू अहिले अचानक नेतृत्व परिवर्तनको माग गरिरहेको प्रसंग पनि स्मरण गराए।

