राष्ट्रिय मानव अधिकार आयोगले पछिल्ला दिनहरूमा विभिन्न व्यक्ति, समूह र दलका नेताहरूबाट घृणाजन्य अभिव्यक्ति आएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
आइतबार जारी विज्ञप्तिमा आयोगले यस्ता अभिव्यक्तिले हिंसात्मक कार्यलाई थप प्रश्रय दिन सक्ने चेतावनी दिँदै संयमता र मर्यादित भाषाको प्रयोगमा जोड दिएको छ।
आयोगले नागरिकलाई सार्वजनिक व्यक्तिको काममा टिप्पणी गर्ने अधिकार भए पनि अभिव्यक्ति मानव अधिकारका मूल्य–मान्यता, मर्यादा र सामाजिक सद्भावभित्र रहनुपर्ने उल्लेख गरेको छ।
“आफ्नो अधिकार प्रयोग गर्दा अरूको मर्यादामा ठेस पुग्ने अभिव्यक्ति नदिनु आवश्यक छ,” आयोगले भनेको छ, “घृणाजन्य अभिव्यक्तिबाट समाजमा हिंसा बढ्न सक्ने भएकाले संयमित भएर उचित राजनीतिक निकास खोज्न लाग्नुपर्छ।”
आयोगले सबै सरोकारवालालाई हिंसात्मक गतिविधि नगर्न र जिम्मेवार ढंगले राजनीतिक प्रक्रियामा संलग्न हुन आग्रह गरेको छ।

