काठमाडौं — एक खुट्टामै विश्वलाई मोहनी लगाएकी चर्चित नृत्याङ्गना सीता सुवेदीको निधन भएको छ। शारीरिक अपाङ्गता हुँदाहुँदै पनि नृत्यलाई जीवनको मार्ग बनाएकी सुवेदी आफ्नो प्रेरणादायी यात्रा, अदम्य साहस र योगदानका कारण नेपाली कलाक्षेत्रमा अमर नाम बनेकी थिइन्।
एक खुट्टाले नाचेर देशबिदेशमा आफ्नो बेग्लै पहिचान बनाएकी नृत्यङ्गना सीता सुवेदीको उपचारको क्रममा आज बिहान साढे ६ बजे टिचिङ हस्पिटलमा स्वर्गारोहण भएको छ । उनी केही महिना यता फोक्सोको क्यान्सरबाट पीडित थिइन ।
सुवेदीले क्लासिक नेपाल फाउन्डेशन’को स्थापना गरी नृत्य र कलाको माध्यमबाट समाजसेवा र प्रतिभा अभिव्यक्तिको मार्ग खुलाइन्। सन् २०२३ मा उनी मिस इन्टरनेशनलको उपाधि जितेर नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी थिइन्।
नृत्यमा आफ्नो गहिरो लगाव र कडा मेहनतका कारण सुवेदीले इन्टरमिडिएट तहमा कत्थक नृत्यमा स्वर्णपदक हासिल गरेकी थिइन्। एक खुट्टामै अनवरत अभ्यासमार्फत उनले १०० भन्दा बढी स्टेजमा आफ्नो प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पारिन्। उनले नेपाल मात्र नभई विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा समेत भाग लिएर देशको सम्मान उच्च राखिन्।
नृत्यसँगै उनी गायिका, प्रेरणादायी वक्ता र समाजसेवीका रूपमा पनि परिचित थिइन्। जीवनका कठिनाइलाई अवसरमा बदल्दै सुवेदीले असंख्य युवालाई “साहस र आत्मविश्वास”को बाटो देखाइन्।
कलाक्षेत्रका विज्ञहरूले उनको निधनलाई “नेपाली नृत्य र सिर्जनशीलताका लागि ठूलो क्षति” भनेका छन्। सुवेदीले आफ्नो जीवनमार्फत जुन संदेश दिइन्, त्यो नेपालका युवा पुस्ताका लागि सधैं प्रेरणाको स्रोत बन्ने निश्चित देखिन्छ।


