काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा देवी कात्यायनीको विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ।
धार्मिक विश्वासअनुसार यस दिन देवी कात्यायनीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रताको नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी ‘कात्यायनी’ नामले परिचित भएकी हुन्।
पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसयता उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी छन्।
देवी कात्यायनीलाई चार हातसहित सिंहवाहिनी स्वरूपमा चित्रण गरिएको छ। उनको वर्ण स्वर्ण जस्तै तेजिलो छ। दाहिने हातमा अभय र वरमुद्रा रहँदा देब्रे हातमा तरवार र कमल पुष्प अङ्कित छ। उनलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ।
नवरात्र साधनामा छैटौँ दिन भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने परम्परा छ। यस दिन बेलको फेदमा बसेर जागरण गर्ने चलनसमेत छ। विश्वास गरिन्छ, कात्यायनीको भक्तिद्वारा अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सकिन्छ।
समकालीन सन्दर्भमा पनि देवी कात्यायनीलाई नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ।
यस अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठहरू—गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज विशेष पूजा–आराधना भइरहेको छ। दशैंमा नौ दिनसम्म दशैंघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा गर्ने परम्परा छ।

