प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने परम्परा छ।
नवदुर्गाका पार्षद देवीहरूको आवाहन
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधना गरिन्छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार—
-
केरामा ब्रह्माणी
-
दारिममा रक्तदन्तिका
-
धानमा लक्ष्मी
-
हलेदोमा दुर्गा
-
मानवृक्षमा चामुण्डा
-
उखुमा कालिका
-
बेलपत्रमा शिवा
-
अशोकमा शोकरहिता
-
जयन्तीमा कात्तिकी देवी
आवाहन गरी पूजा गरिन्छ। यी देवी नवदुर्गाका पार्षद अर्थात् सहायक देवीहरू मानिन्छन्।
हनुमानढोका दरबारको परम्परा
हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने विशेष परम्परा छ।
-
गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना पूजारीसँगै ल्याउने चलन छ।
-
त्यसपछि जीवनपुरबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले ल्याउँछन्।
-
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती भित्र्याइन्छ।
राजतन्त्र रहुञ्जेल राजाको उपस्थितिमा यो परम्परा सम्पन्न हुने गरेकामा गणतन्त्रपछि संस्कृति मन्त्री उपस्थित हुने परम्परा बनेको छ।
यस वर्ष फूलपाती सोमबार अपराह्न साँढे ४ बजे हनुमानढोका दरबारमा भित्र्याइने कार्यक्रम छ।
यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौंका प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ पर्वको सामाजिक चहलपहल भने आज अर्थात् फूलपातीकै दिनदेखि बढ्ने गर्दछ।

