काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन्।
पूर्वसभामुखलाई मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले गाडी, इन्धन र चालकसहितको सुविधा उपलब्ध गराउँदै आएको थियो। तर, हालै सरकारले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीले पाउँदै आएका सुविधा फिर्ता गर्ने निर्णय गरेपछि उनीहरूले आइतबार गाडी बुझाएका हुन्।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती गर्ने उद्देश्यसहित विभिन्न सुविधा रोक्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरी, प्रचलित कानुनबाहेक बाँकी सबै सुविधा फिर्ता गराउन निर्देशन दिएको हो।
त्यसपछि संसद् सचिवालयले सम्बन्धित पदाधिकारीहरूसँग सम्पर्क गरेपछि घर्ती र महराले गाडी बुझाएका हुन्। संसद् सचिवालयका अनुसार पूर्वसभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि दशैं बिदा सकिएलगत्तै गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाडी सुविधा फिर्ता गरिसकेका छन्। तर, संसद् सचिवालयको नियम विपरीत गाडी चढ्दै आएका अन्य व्यक्तिहरू अझै बाँकी रहेको र ती सुविधा पनि फिर्ता गराउनेबारे छलफल भइरहेको सचिवालयको सवारी शाखाले जनाएको छ।

