राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८, १९ र २० गतेसम्म देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सो अवधिमा लामो दूरीका सवारी साधन आवतजावत नगर्न प्राधिकरणले जनाएको हो।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सम्भावित जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका तथा काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको छ।’
प्राधिकरणले यातायात व्यवसायी, चालक, सहचालक तथा सर्वसाधारणलाई अत्यावश्यकबाहेक लामो दूरीका यात्रा नगर्न आग्रह गरेको छ। साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई यातायात आवतजावत बन्द गराउन, निरन्तर अनुगमन र निगरानीमा सक्रिय रहन निर्देशन दिएको छ।

