अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको ६ घण्टापछि हमास गाजामा युद्धविराम गर्न सहमत भएको छ। हमासले शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरूले ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू (जीवित वा मृत) अवस्थामा रिहा गर्न तयार छन् । साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ ।
हमासले अमेरिकी राष्ट्रपति ट्रम्पले यस हप्ता प्रस्तुत गरेका २० बुँदे शान्ति सम्झौताको केही भागहरूमा थप वार्ता आवश्यक रहेको जनाएको छ । अल जजीराको रिपोर्टअनुसार हमासबाट आएको जवाफमा हतियार छोड्ने कुरा उल्लेख गरिएको छैन ।
हमासको घोषणापछि ट्रम्पले इजरायललाई तुरुन्तै गाजामा हमला बन्द गर्न भनेका छन् । प्रतिक्रियामा इजरायलले पनि ट्रम्पको गाजा योजनामा काम गर्न तयार रहेको जनाएको छ ।
प्रधानमन्त्री नेतान्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा इजरायल ट्रम्पको योजनाको पहिलो चरण लागू गर्न तयार रहेको उल्लेख छ । त्यसको लागि इजरायल ट्रम्प र उनको टिमसँग मिलेर युद्ध अन्त्य गर्न काम गर्ने पनि उल्लेख छ ।
यसैगरी इजरायल गाजामा आक्रमण रोक्न तयार भएको छ। इजरायली सेनाको रेडियोका अनुसार सरकारले सेनालाई गाजामा कब्जा गर्ने कारबाही रोकेर आवश्यक परेका अवस्थामा मात्रै अगाडि बढ्ने आदेश दिएको छ।

