सामाजिक सञ्जालमा हाल ‘#ArrestKPOli’ नामक अभियान तीव्र बनेको छ। जेनजी आन्दोलनका अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै यो अभियान सञ्चालन गरेका हुन्।
गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा राज्यतर्फबाट भएको दमनमा अनेकौं युवा घाइते र बेपत्ता भएका थिए। सो घटनाको जिम्मेवारी तत्कालीन सरकारका प्रतिनिधिले लिनुपर्ने भन्दै युवाहरूले सामाजिक सञ्जालमार्फत दबाबमूलक अभियान थालेका हुन्।
जेनजीकी अगुवा रक्षा बमले लेखेकी छन्,“अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरुरी छ। मधेश विद्रोह हुँदा ‘दुई–चार दाना कुहिएका आँप झरेका हुन्’ भन्ने अभिव्यक्ति दिने, जेनजी आन्दोलनमा निहत्था विद्यार्थीमाथि गोली चलाउने आदेश दिने व्यक्ति आज पनि मजाक गर्दै बसिरहेको छ। हत्यारालाई कानूनी कारबाहीको दायरामा ल्याइयोस्।”
त्यस्तै, जेनजी अभियन्ता युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै लेखेका छन्, “हरेक गोलीको हिसाब हुनेछ। #ArrestKPOli।”
यी पोस्टहरूसँगै अन्य जेनजी समर्थक र सर्वसाधारणले पनि सामाजिक सञ्जालमा उक्त ट्रेन्डलाई समर्थन जनाइरहेका छन्। कतिपयले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गर्न माग गर्दै टिप्पणी गरेका छन्।
जेनजी अभियन्ताहरूले पहिलो दिनको आन्दोलनमै राज्यले ‘बर्बरतापूर्वक विद्यार्थीको हत्या’ गरेको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीलाई कानूनी कारबाहीको माग गरेका छन्।

