गायिका निता आचार्यको स्वरमा रहेको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक भएको छ । भक्तिपूर्ण भावनाले भरिएको यस भजनमा गायिकाको भक्ति, समर्पण र भावप्रवण प्रस्तुतिले गीतलाई अझ मार्मिक र प्रभावशाली बनाएको छ ।
गोविन्द राईको निर्देशन तथा कोरियोग्राफी रहेको भजनको छायांकन र सम्पादन अञ्जय खड्काले गर्नुभएको हो । भिडियोमा गायिका निताका साथमा बालकलाकार महर्षि घिमिरेको समेत अभिनय देख्न सकिन्छ । महर्षि निर्देशक शंकर घिमिरे र अभिनेत्री रिचा घिमिरेको सुपुत्र हुनुहुन्छ ।
‘त्रिनेत्रधारी’लाई अमेरिकाको मेरिल्याण्डस्थित हिन्दु-बुद्ध मन्दिर तथा बाल्टिमोर वरपरका क्षेत्रहरूमा छायांकन गरिएको हो । गीतको भौगोलिक परिवेशले पनि विदेशमा रहेको नेपाली धर्म-संस्कृतिको जगेर्ना र प्रस्तुतिलाई थप सशक्त बनाएको छ ।
अमेरिकामा बसोवास गर्दै आउनुभएकी निता लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँका ‘समर्पण’, ‘जिन्दगी त सँगै जिउने हो’, ‘यादहरू रंगिन संसार’लगायत गीत श्रोतामाझ प्रियछन् ।

