ललितपुर- बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले शनिबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी नेपालमा अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ।
काठमाडौं उपत्यकाका १५ विद्यालयका १८ जना प्रतिभाशाली बालबालिकाहरूले सहभागिता जनाएका उक्त प्रतियोगितामा सहभागीहरूले विविध विधामा आफ्नो कौशल, प्रस्तुति र आत्मविश्वास देखाएका थिए। आकर्षक कोरियोग्राफी, सुव्यवस्थित व्यवस्थापन र मनमोहक प्रस्तुतिले कार्यक्रमको स्तर उच्च बनाएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशकी प्रमुख श्रीमती जयंती साट्याल रहनुहुन्थ्यो। उहाँले ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले बालप्रतिभा अभिवृद्धि, आत्मविश्वास विकास र व्यावहारिक सीपको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँका अनुसार यस्ता प्रतियोगिताले बालबालिकामा नेतृत्व, सृजनशीलता र सामाजिक प्रस्तुतिको चेतना जगाउने महत्वपूर्ण भूमिका खेल्दछन्।
प्रतियोगिता दुई समूह सिनियर र जुनियर गरी सञ्चालन गरिएको थियो। सिनियर समूहमा विद्या भट्टराईले टाइटल, मोस्ट पपुलर र मोस्ट ट्यालेन्ट विजेताको उपाधि जित्न सफल भइन् भने रिन्जिन दोर्जे लामाले पब्लिक च्वाइस, बेस्ट वाक र बेस्ट सिङ्गिङको उपाधि हात पारे। सिल्बिया उप्रेती मोस्ट फोटोजेनिक र जेनीसा श्रेष्ठ बेस्ट स्पिच विजेता बने।
जुनियर समूहमा डोरोथी शाहले टाइटलसहित बेस्ट डान्स र बेस्ट वाकको उपाधि प्राप्त गर्दै तीन पुरस्कार आफ्नो नाममा लेखाइन्। एलिशा जयसी फर्स्ट रनरअप, बिनिशा बिष्ट सेकेन्ड रनरअप तथा मोस्ट पपुलर, मोस्ट ट्यालेन्ट र मोस्ट फोटोजेनिक विजेता बनेकी थिइन्। अनन्या पन्तले पब्लिक च्वाइस र बेस्ट आर्टवर्क, सारा लामाले मोस्ट कन्फिडेन्ट र बेस्ट स्माइल, सम्रगी गुरुङले बेस्ट सिङ्गिङ र क्युटेस्ट बेबी अफ द इयर, किश्मिना तामाङले बेस्ट कुकिङ, प्रिज्मा भण्डारीले बेस्ट हेयर, स्वरा गौतमले मोस्ट एक्टिभ, उदिता राणाले बेस्ट पर्सनालिटी, सुमी वर्माले मोस्ट डिसिप्लिन र एलिशा जयसीले बेस्ट स्पिच तथा ब्युटी विद ब्रेनको उपाधि जितिन्।
विजेताहरूले ट्रफी, प्रमाणपत्र र आकर्षक उपहारहरू प्राप्त गरे। साथै उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आगामी मोडलिङ कार्यक्रमहरूमा प्राथमिकता दिने योजना आयोजकले घोषणा गरेको छ।

कार्यक्रमको निर्णायक मण्डलमा नेपाली मनोरञ्जन क्षेत्रमा स्थापित व्यक्तित्वहरू सहभागी थिए। निर्णायकहरूमा अभिनेता तेज गिरी, मिस मनासलु कलेज २०८१ की विजेता रोशिन ढकाल, मोडल तथा उद्यमी आभा बस्नेत र मोडल जिशु कोईराला रहेका थिए। उनीहरूले सहभागी बालबालिकाको प्रदर्शनलाई उच्च प्रशंसा गर्दै बाल प्रतिभाको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
कार्यक्रमलाई सफल बनाउन ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको दक्ष र समर्पित टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। कार्यक्रम निर्देशक सबिना श्रेष्ठको संयोजनमा सम्पन्न फिनालेमा डान्स कोरियोग्राफर सन्दीप भुजेल, अफिसियल कोरियोग्राफर सुमी बनियाँ, ड्रेस डिजाइनर अश्मिता श्रेष्ठ, मेकअप आर्टिस्ट दीक्षा लामा, फोटोग्राफर किरण स्याङ्गा, ग्राफिक डिजाइनर लक्ष्मी कुमार शाह, शैक्षिक सल्लाहकार सोनित राज ढुंगेल र इभेन्ट कोअर्डिनेटर रुशना खाँडले समर्पित भूमिकासहित योगदान दिएका थिए।
कार्यक्रममा सहभागी बालबालिकाहरूले आत्मविश्वासपूर्वक आफ्नो प्रस्तुति दिएका थिए। यसले प्रतियोगितालाई केवल प्रतिस्पर्धा नभई सिकाइ, सृजनशीलता र व्यक्तित्व अभिव्यक्तिको साझा मञ्च बनाएको आयोजक पक्षको भनाइ छ।
ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले यसअघि पनि ‘नेशनल किड्स एन्ड टिन्स सुपरस्टार’, ‘लिटल च्याम्पियन्स नेपाल’ र ‘नेशनल किड्स ट्यालेन्ट वेभ’ जस्ता सफल राष्ट्रिय कार्यक्रमहरू आयोजना गरिसकेको छ। संस्थाले नेपाली कला, संस्कृति र बालप्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य लिएको बताइएको छ।
कार्यक्रमको अन्त्यमा आयोजक टिमले सबै अभिभावक, विद्यालय प्रतिनिधि, निर्णायकहरू, सहभागी बालबालिका तथा सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ ठूलो स्तरमा यस्ता सिर्जनात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

