
माघ-७, काठमाडौं ।
एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबल अन्तर्गत छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ ।
कतारमा हुने यूथ–२३ च्याम्पियनसिप फुटबल छनोट चरणको पहिलो खेलमा नेपालले आफुभन्दा बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नुपर्ने भएको छ ।
एसियन फुटबल महासंघ (एएफसी) ले हिजो सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले समूह ‘ए’ को पहिलो खेलमा मार्च २२ तारिखमा ओमानसँग खेल्ने भएको हो ।
त्यस्तै नेपालले २४ मार्चमा कतारसँग तथा २६ मार्चमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले थाईल्याण्डमा हुने एएफसी यूथ–२३ च्याम्पियनसिप खेल्न पाउनेछन् ।
त्यसैगरी दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।
च्याम्पियनसिपका लागि कुल ४४ टोलीले ११ समूहमा विभाजित भएर छनोट खेल खेलिरहेका छन् जसमध्ये ११ समुहबाट छानिने १६ टोलीले फाइनल चरण खेल्नेछन् ।
