काठमाडौं । सिक्किमका जीवन शर्मालाई काठमाडौंमा आयोजित जिनियस म्युजिक अवार्ड समारोहमा ‘माटोको सुवास’गीतको सङ्गीतका लागि अवार्ड प्रदान गरिएको छ । उहाँलाई बुधबार काठमाडौंमा आयोजित जिनियस म्युजिक अवार्डको विशेष समारोहमा बागमती प्रदेशका मुख्मन्त्री इन्द्र बानियाँले उक्त अवार्ड प्रदान गर्नुभएको हो । गीता अधिकारीको शब्द रचना रहेको गीत ‘माटोको सुवास’मा जीवनले सङ्गीत भर्नुभएको हो । सोही गीतबाट उहाँलाई अवार्ड प्रदान गरिएको हो । समारोहमा मखमली स्वरकी धनी अग्रज गायिका तथा संगीतकार मीरा राणालाई दीर्घसाधाना सम्मान अर्पण गरिएको थियो ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, जिनियस म्युजिक अवार्डले नेपाली कला, भाषा र संगीत क्षेत्रको उत्थान र नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर हरेक वर्ष यो अवार्ड समारोह आयोजना गर्दै आएको छ । २०७६ सालमा पहिलो पटक आयोजना गरिएको ‘जिनियस म्युजिक अवार्ड’ अहिले आफ्नो छैटौं संस्करणमा विभिन्न विधाका गीतसंगीतका सर्जकलाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा नेपाली कला, संस्कृति र संगीत क्षेत्रका विशिष्ट स्रष्टा, कलाकार, पर्यटन व्यवसायी र समाजसेवीहरूलाई अवार्ड र सम्मान प्रदान गरिएको थियो ।
अवार्ड प्राप्त गरेपछि जीवनले यसका लागि निर्णयक टिम, आयोजक सबैलाई धन्यावाद दिनुभएको थियो । कार्यक्रममा चर्चित र लोकप्रिय कलाकारको विविध सांगीतिक प्रस्तुति तथा विशेष सांस्कृतिक आकर्षण रहेका थिए । ‘हामी नेपाली गीतसंगीत, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान दिन चाहन्छौं । यो अवार्ड कार्यक्रम केवल सम्मानको मञ्च होइन, नेपाली संगीतकर्मीहरूको साझा उत्सव हो’, अवार्डका अध्यक्ष पाठकले बताउनुभयो । कार्यक्रम प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले जिनियस म्युजिकले गरेका कार्यको प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम एउटा संस्थाले गरेको बताउनुभो । समारोहमा नेपाली चलचित्र, गीतसंगीत र साहित्य क्षेत्रका साथै विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

