बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले मानवीय अपराधसम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको आदेश दिएको हो।
गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानव अधिकार गम्भीर रूपमा उल्लङ्घन गरेको आरोप हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्रीको अनुपस्थितिमै मुद्दा विचाराधीन भई फैसला सुनाइएको हो।
उक्त फैसलामा तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई समेत मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ। त्यही घटना सम्वन्धी मुद्दामा संलग्न मानिएका तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी साक्षी (गवाह) बनेको आधारमा ५ वर्ष कैद सजाय तोकिएको छ।
४५३ पृष्ठको विस्तृत फैसलाको प्रतिलिपि सार्वजनिक गर्नु अघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले फैसला क्रमशः छ भागमा सुनाइने जानकारी दिएका थिए। बंगलादेश टेलिभिजनले इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलको यो ऐतिहासिक फैसला प्रत्यक्ष प्रसारण गरेको थियो।

