एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट बाहिरिएपछि निरन्तर सत्रुतापूर्ण व्यवहार गर्दै आएका दुर्गा प्रसाईंप्रति बुधबार भने रणनीतिक रूपमा मित्रतापूर्ण अभिव्यक्ति दिएका छन्। सरकारले सोमबार मध्यरातमा भक्तपुरस्थित निजी निवासबाट प्रसाईंलाई ‘सार्वजनिक शान्तिविरुद्धको कार्य’ गरेको भन्दै पक्राउ गर्यो।
दिउँसो उनले जेनजी आन्दोलन र सरकारविरुद्ध अभिव्यक्त सामग्री भिडियोमार्फत सार्वजनिक गरेपछि राति नै उनलाई नियन्त्रणमा लिइएको थियो। यसअघि आफ्नै नेतृत्वको सरकारले प्रसाईंलाई बोलेकै आधारमा पटक–पटक पक्राउ गरी थुनामा पुर्याएको स्मरणीय छ। तर अहिले भने ओलीले प्रसाईंको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन्। ओलीको यो माग प्रसाईंप्रति उन्मुख ‘मित्रता’ भन्दा पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमाथिको राजनीतिक प्रहारका रूपमा बुझिन्छ।
ओली स्वयंले प्रसाईंलाई अप्रत्याशित हैसियत दिलाएका थिए—उनको घरमा खाने–बस्ने व्यवस्थाबाटै सुरु भएको नजिकको सम्बन्ध ‘हजुरबुबा–नाति’ भनिने स्तरसम्म पुगेको थियो। तर त्यो सम्बन्ध अल्पकालमै कटुतामा परिणत भएको सबैलाई थाहा छ।
उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसकेको छ—बोलेकै आधारमा थुनिन मिल्दैन। दुर्गा प्रसाईंले दिउँसो भिडियो निकाले, बेलुका समातियो। सरकारसँग त्यस भिडियोको जवाफ छ कि छैन ?’ ओलीले सिमरा घटनाको प्रसंग निकाल्दै सरकारले राजनीतिक दलहरूलाई सुरक्षित रूपमा हिँडडुल गर्न नसक्ने अवस्था सिर्जना गरेको आरोप लगाए। त्यस्तो सरकारले चुनावमा कुरा गर्ने नैतिक अधिकार नभएको भन्दै उनले सरकारमाथि प्रहार गरे।

