नेकपा एमालेका कार्यकर्ता र जेन–जी समूहका युवाबीच बुधबार भएको झडपपछि अशान्त बनेको बाराको सिमरा क्षेत्रमा आज (बिहीबार) पनि कर्फ्यू जारी गरिएको छ।
बिहीबार बिहानैदेखि युवाहरू सडकमा निस्केर प्रदर्शनमा उत्रिँदै आएका छन्। बुधबार बेलुका प्रहरी प्रशासन र युवाबीच सहमति भएपछि सडक सञ्चालनमा आए पनि आज पुनः बजार क्षेत्रका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। युवाहरूले नाराबाजी गर्दै टायर बालेर विरोध जनाइरहेका छन्।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको छ। प्रशासनले स्थिति नियन्त्रणमा लिन दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
जेन–जी समूहका युवाहरूले आफ्ना साथीमाथि भएको कुटपिटको कारबाहीको माग गर्दै घटनामा संलग्न व्यक्तिविरुद्ध किटानी जाहेरीसमेत दर्ता गराएका छन्।
बुधबार एमालेद्वारा आयोजित कार्यक्रमका लागि काठमाडौंबाट सिमरा आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेताहरूलाई सिमरा विमानस्थलमा रोकेर युवाहरूले प्रदर्शन गरेपछि तनाव सुरु भएको हो।

