अत्यधिक प्रशोधित खानेकुरा (जसमा धेरै किसिमका एडिटिभ, रङ, प्रिजरभेटिभ, कृत्रिम मिठास आदि मिसाइएका ससेज, क्रिस्प, इन्स्टेन्ट सुप, कार्बोनेटेड पेय, आइसक्रिम, सुपरमार्केट पाउरोटी आदि) ले दीर्घकालीन रूपमा स्वास्थ्यमा गम्भीर जोखिम बढाउन सक्छ भन्ने निष्कर्ष नयाँ अन्तर्राष्ट्रिय अनुसन्धानले निकालेको छ।
लन्सेटमा प्रकाशित अध्ययनले यस्ता खाद्य पदार्थ बढी खाँदा टाइप–२ डायबिटिज, हृदयाघात, मिर्गौला रोग, डिप्रेसन र समयअघि मृत्यु हुने जोखिमसमेत बढ्ने देखाएको छ। त्यसैले अत्यधिक प्रशोधित खानेकुरामा चेतावनी लेबल र अतिरिक्त कर लगाउन तथा त्यसम्बाट उठेको आय पौष्टिक खानेकुरा सुलभ बनाउन प्रयोग गर्न सुझाव दिइएको छ।
केही वैज्ञानिकले भने हालका अध्ययनले सहसम्बन्ध मात्र देखाएको, तर सीधा कारण प्रमाणित गर्न अझै थप अनुसन्धान आवश्यक रहेको बताएका छन्। बेलायतको वैज्ञानिक सल्लाहकार समितिले पनि अत्यधिक प्रशोधित खाना र खराब स्वास्थ्यबीचको सम्बन्ध चिन्ताजनक भए पनि त्यसको ठ्याक्कै कारणबारे स्पष्ट निष्कर्ष ननिक्लिएको उल्लेख गरेको छ। स्वास्थ्यका लागि फलफूल, तरकारी, फाइबरयुक्त खाना बढाउँदै चिनी, बोसो, नुन र अत्यधिक प्रशोधित खाद्यपदार्थ यथासम्भव घटाउन सिफारिस गरिएको छ।

