भन्सार छलीका मालवस्तुलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरी र तस्कर समूहबिच आइतबार राति गोली हानाहान भएको छ।
भारतबाट ट्याक्टरमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेका मालवस्तुलाई नियन्त्रणमा लिन खोज्दा पचरौत नगरपालिका सीमावर्ती गाउँ चिकनीमा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताएका छन्। भारततर्फबाट ट्याक्टरमा लोड गरेर भन्सार छलीका सामग्रीहरू भित्र्याउन खोजिएको सूचना आएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरी खटिएको उनले बताए।
अवैध मालवस्तु लोड गरेको ट्याक्टरलाई नियन्त्रणमा लिएर जिल्लातर्फ ल्याउन खोज्दा प्रहरीमाथि नै तस्कर समूहले गोली चलाउन सुरु गरेको प्रवक्ता पण्डितले बताए। तस्कर समूहतर्फबाट दुई राउन्ड गोली प्रहार गरिएपछि आफ्नो बचाउका लागि प्रहरीतर्फबाट ६ राउन्ड गोली चलाउनु परेको उनले बताए।
प्रहरीले चिकनी गाउँमा रहेको ईंट्टाभट्टा नजिकै ट्रेक्टरमा लोड गरिएको अवस्थामा भन्सार छलीका ती सामग्री नियन्त्रणमा लिएको र थोरै संख्यामा रहेको प्रहरी टोलीमाथि तस्कर समूहले गोली प्रहार गरेर ट्याक्टरसहित ती सामान लिएर भारतको सीमावर्ती गाउँ बिन्धवासिनी गाउँतर्फ लिएर गएको उनले बताए।
घटनास्थलबाट प्रहरीले चारवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल, दुईवटा मोबाइल र भारतीय आधार कार्ड (भारतीय नागरिकता) समेत फेला परेको उनले बताए। तस्कर समूह राति नै भारततर्फ भाग्न सफल भएकाले गोली प्रहारबाट के कति क्षति भएको त्यसको यकीन हुन नसकेको उनले बताए।
नियन्त्रणमा लिएको ट्याक्टरमा कुन सामान थियो त्यो पहिचान हुन नसकेको उनले बताए। भारततर्फबाट आएका तस्कर समूहले प्रहरीमाथि गोली चलाउने तस्कर समूहहरूको पहिचान गरेर कारबाही गरिने उनले बताए।
सशस्त्र प्रहरीको भूमिका शंकास्पद देखिएको छ। भन्सार चुहावट र सीमा अपराध रोक्न सीमामा खटिएका सशस्त्र प्रहरीले उल्टै तस्करको सहयोगी भूमिकामा देखिएको आइतबार रातिको घटनाले देखाएको छ।

