दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकामा समुन्द्र नेपालको आर्थिक सहयोग र बैतेश्वर अस्पतालको आयोजनामा सम्पन्न स्वास्थ्य शिविर अन्तर्गत गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा पाठेघर खस्ने जस्ता गम्भीर समस्या पहिचान भएका आर्थिक रूपमा विपन्न महिलाहरूलाई काठमाडौँ ल्याई शल्यक्रिया तथा थप उपचार प्रदान गरिँदैछ ।
गाउँपालिकाका नौ जनामध्ये पाँच जना महिलाको प्रसूति गृह, थापाथलीमा सफलतापूर्वक उपचार भइरहेको छ भने बाँकी चार जनाको उपचार मंसिर महिनाको अन्त्यसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ । “महिलाले सहजै व्यक्त गर्न नसक्ने स्वास्थ्य समस्याको पहिचान गरी, नेपाल सरकारले पनि सहजै समाधान गर्न नसकने उपचार सेवा दुर्गम गाउँ–बस्तीबाटै उठाएर काठमाडौँमा निःशुल्क उपलब्ध गराउनु संस्थाको महत्वपूर्ण योगदान हो। यसले बैतेश्वर गाउँपालिका तथा वडा कार्यालयहरूलाई स्थानीय स्वास्थ्य योजना बनाउन पनि मार्गदर्शन गरेको छ,” संस्थाका महासचिव गोपालध्वज श्रेष्ठले बताए।
संसारभरि प्रचलित पाठेघर खस्ने समस्याको दीर्घ समाधानका लागि बैतेश्वर गाउँपालिका मात्र नभई इच्छुक अन्य पालिकासँग पनि सहकार्य गर्न संस्था सधैं तयार रहेको संस्थाका अध्यक्ष जगत बहादुर दहालले बताए। कार्यक्रमको समन्वय गीतकार रमेश दहालले गरेका हुन् भने समुन्द्र बेल्जियम नामको गै.स.स. ले आर्थिक सहयोग गरेको थियो हो ।

