Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

श्रीलंकामा ‘दितवा’ आँधीबाट भीषण बाढी–पहिरो, १३२ को मृत्यु, १७६ बेपत्ता

Reporter

श्रीलङ्कामा ‘दितवा’ नामक भीषण आँधीका कारण परेको अविरल वर्षा र आएको बाढी–पहिरोबाट कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १७६ जना बेपत्ता रहेका छन्।

यस प्राकृतिक विपत्तिपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले देशभर आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग तत्कालीन सहयोगका लागि आग्रह गरेका छन्। साथै, श्रीलङ्का सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश पैसा पठाई राहत तथा पुनःस्थापनामा सहयोग गर्न आह्वान गरेको छ।

पछिल्ला आठ वर्षयताकै यो सबैभन्दा ठूलो प्राकृतिक विपत्ति रहेको जनाइएको छ। यसअघि सन् २०१७ मा आएको बाढी–पहिरोमा २०० जनाको मृत्यु र लाखौँ मानिस विस्थापित भएका थिए।

श्रीलङ्का विपद् व्यवस्थापन विभागका अनुसार हालको घटनामा १५ हजारभन्दा बढी घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने करिब ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ।

विभागका महानिर्देशक सम्पत कुतोवेगोदाका अनुसार १३२ जनाको मृत्यु पुष्टि भइसकेको छ र १७६ जना अझै बेपत्ता छन्। राहत तथा उद्धार कार्यमा सेना, वायुसेना र नौसेनाको परिचालन गरिएको छ।

मध्य श्रीलङ्काको बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेदको कारण विशेष रूपले प्रभावित भएको छ, जसका कारण ग्रामीण बस्तीहरूमा तत्काल राहत पु¥याउन कठिनाइ भएको अधिकारीहरूले बताएका छन्। सबैभन्दा प्रभावित क्षेत्रमध्ये पर्ने मास्पान्ना गाउँका बासिन्दा समन कुमाराले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै, पहिरोले सडक भत्किएका कारण न त गाउँबासी बाहिर निस्कन सकेको, न त बाहिरबाट सहयोगीहरू भित्र छिर्न सकेको, खाना तथा सुरक्षित खानेपानीको गम्भीर अभाव भएको गुनासो गरेका छन्।

अधिकारीहरूको भनाइ अनुसार श्रीलङ्काको करिब एक तिहाइ भूभागमा न विद्युत् आपूर्ति सामान्य छ, न सुरक्षित खानेपानीको व्यवस्था। विद्युत् प्रसारण लाइन र खानेपानी शुद्धीकरण केन्द्रहरू बाढी र डुबानबाट क्षतिग्रस्त भएका छन्। त्यस्तै, धेरै क्षेत्रमा इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ। राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्वस्थित क्यान्डी क्षेत्रमा पनि पहिरोले सडक नष्ट गरेकाले त्यहाँ पुग्न समेत कठिनाइ भएको समाचार प्राप्त भएको छ।

यस बीच, विपत्तिपछिको राहत अभियानमा भारत पहिलो देशका रूपमा सहयोग लिएर अघि आएको छ। दुई वटा भारतीय विमान राहत सामग्रीसहित श्रीलङ्का पुगेका छन् भने कोलम्बोमा पहिलेदेखि नै रहेको एक भारतीय जहाजमार्फत खाद्यान्न तथा आवश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको बताइएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रीलङ्कालाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

हाल ‘दितवा’ आँधी श्रीलङ्का पार गर्दै भारततर्फ सर्दै गएको भारतीय मौसम विभागले जनाएको छ। यसलाई ध्यानमा राखी चेन्नई विमानस्थलका ५४ उडान रद्द गरिएको छ। विभागले आगामी ४८ घण्टासम्म भारतको दक्षिणी तटवर्ती क्षेत्रमा पनि भीषण वर्षा र तीव्र हावाहुरीको उच्च जोखिम रहेको चेतावनी जारी गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको