नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
कोटेश्वर चोक सुधार आयोजनाको लागि ३४.५९ अर्ब येन अर्थात् ३१.७६ अर्ब रुपैयाँ सहुलियत ऋणसम्बन्धी सम्झौता भएको हो।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा बुधबार अर्थ मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए।
जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको उनले बताए। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।
यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि.पि.राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।

