Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू

Reporter

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अब अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ । उपत्यकामा दिनानुदिन बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पछिल्ला दिनमा लामो दूरीका सवारी साधनले स्थानीय बसजस्तै जथाभावी सडक किनारमै यात्रु चढाउने र ओराल्ने गर्दा विशेषगरी ‘पिक आवर’मा ट्राफिक जाम चर्किएको थियो ।

‘राजधानीका सडकमा सवारी चाप अत्याधिक छ, त्यसमाथि लामो दूरीका गाडीहरूले नियम विपरीत बाटोमै रोकेर यात्रु चढाउने–झार्ने गर्दा जाम झनै बढेको देखियो । त्यसैले अब सबै गाडी तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो,’ प्रवक्ता सुवेदीले बताए ।

यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रको समेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले यस विषयमा सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघनकर्तालाई अनलाइन सचेतना कक्षा

ट्राफिक प्रहरीले सडक अनुशासन कडाइका साथ लागू गरिरहेको जनाएको छ । रातो बत्ती उल्लंघन गर्ने, जथाभावी लेन परिवर्तन गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षामा सहभागी गराइँदै आएको छ ।

चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउने योजना समेत अघि बढाइएको कार्यालयले जनाएको छ । यसैबीच सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ ।

यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गरिरहेका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः ‘इन्स्टल’ गर्नुपर्ने प्रवक्ता सुवेदीले जानकारी दिए । नयाँ प्रणालीमार्फत घरमै बसेर सचेतना कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको