Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Reporter

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो मौसम बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणको जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । जाडोयाममा यो भाइरस बढी सक्रिय हुने भएकाले सबै उमेर समूहका मानिस प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार शिशुदेखि युवा, अधबैँसे तथा वृद्धवृद्धासम्म सबैलाई फ्लू लाग्न सक्ने भए पनि विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यसको जोखिम बढी हुन्छ ।

उनले फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको विशेष हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने जानकारी दिए । तर दीर्घरोगी, वृद्धवृद्धा, गर्भवती तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा फ्लूले गम्भीर असर पुर्‍याउने तथा अवस्था जटिल बन्न सक्ने भएकाले उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न आवश्यक हुने उनले बताए ।

कसरी सर्छ फ्लू ?

फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा निस्किने थुकका छिटाबाट नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा साससँगै फोक्सोसम्म पुग्न सक्ने बताइएको छ । यस्तै भाइरस लागेको कुनै सतह छोएर आफ्नो नाक, मुख वा आँखामा हात लगाएमा पनि फ्लू सर्न सक्छ ।

फ्लूका मुख्य लक्षण

फ्लूको सङ्क्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने वा सिँगान बग्ने, जिउ तथा मांसपेशी दुख्ने र अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखा पर्ने मन्त्रालयले जनाएको छ ।

यसरी अपनाऔँ रोकथामका उपाय

फ्लूबाट बच्न बिरामी व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाक छोप्ने, शारीरिक रूपमा सक्रिय रहने, प्रशस्त पानी तथा पौष्टिक खाना खाने, बिरामी हुँदा घरमै बस्ने मन्त्रालयको सुझाव छ ।

यसका साथै बेला–बेला साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, अनावश्यक रूपमा आँखा, नाक तथा मुख नछुने गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको